२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

बाघको आक्रमणबाट बाँकेमा इन्द्रबहादुरको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक ८ गते शनिबार
फाइल तस्वीर

पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।

सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्तीसोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउ नमुना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेका हुन् ।

तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए । बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीयलाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान प्रहरीले अनुरोध गरेको छ ।

साथै साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार