२०८३ भदौ ११ , बिहीबार 27, August 2026, Thursday

नेपालगन्ज नाकाबाट जडिबुटी निर्यात उत्साहजनक, ११८ प्रतिशत वृद्धि

जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ । आर्थिक वर्ष २०८२–०८३ को साउन, भदौ र असोज महिनामा मात्रै यो नाकाबाट जडिबुटी निर्यात ११८ प्रतिशतले वृद्धि भएको हो ।

यस वर्ष जडिबुटीको निर्यात धेरै राम्रो हुने सङ्केत गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । तीन महिनामा मात्रै पाँच लाख किलोभन्दा बढि जडिबुटी निर्यात भएपछि यस क्षेत्रका व्यवसायीहरु उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड २२ लाख ४० हजार रुपैयाँको पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको जनाए ।

गत आवको सोही अवधीमा छ करोड ९९ लाख ४४ हजार रुपैयाँको तीन लाख ५९ हजार ६६० किलो जडिबुटी निर्यात भएको बताए । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको शुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमै जडिबुटी निर्यातमा देखिएको उत्साहजनक वृद्धिले यस क्षेत्रका व्यवसायी, किसान र सङ्कलक सबै उत्साहित बनेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए । उनका अनुसार विगत केही वर्षमा विभिन्न कारणले घट्दै गएको जडिबुटीको निर्यात यस वर्षबाट राम्रो तरिकाले वृद्धि हुन थालेपछि यसबाट देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताए ।

जडिबुटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहात महसुस भएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताए । उनले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढ्दै गएको देखिएकाले अझै निर्यात वृद्धि हुँदै जाने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार