२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

चिसो सुरु भएसँगै नेपालमा बसाइँ सर्दै पाहुना चरा (तस्वीर कथा)

मनसुनी वर्षाले देश छोडेसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन भएको छ । हरेक वर्ष १०० भन्दा बढी प्रजातिका चराहरू बसाइँ सरेर नेपाल आउने गर्छन् । तीमध्ये धेरैजसो पानी चरा र हाँसहरू हुन्छन् । यसबाहेक चिल, बाज, फिस्टे, गिद्धजस्ता अन्य चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन् ।

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भइसकेका छन् । कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जान्छन् भने कर्याङकुरुङजस्ता केही प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन् । जाडो याममा नेपाल आउने चराहरू कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु तालजस्ता ठुला नदी र पोखरीहरूमा बस्न रुचाउँछन् ।

हरेक वर्ष जनवरी महिनामा देश वरपरका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आएका पानी चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ । चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रे आदि चराहरू ठूलो सङ्ख्यामा नेपाल आउँछन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा निकै कम सङ्ख्यामा आउने गरेका छन् ।

स्रोत : तस्वीर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार