२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

तिहारमा कति प्रकारका रंगको टीका लगाउने ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ६ गते बिहीबार

जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।

तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराई बताउँछन् ।

तर, अर्का सँस्कृतिविद डा.वासुदेवकृष्ण शास्त्री (डा.बासुदेव कोइराला) भने यसलाई मान्न तयार छैनन् । उनका अनुसार तिहारमा सात प्रकारका रंगको टीका नै लगाउनुपर्दछ । तिहारमा लगाइने सेतो रंग शान्तिको प्रतीक हो । निलो आरोग्य, कालो विरोध वा फौज, पहेंलो अध्यात्म, हरियो विकाश, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो ।

त्यसैले यी सातै प्रकारका रंगको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताउँछन् । शास्त्रीका अनुसार तिहारमा सात प्रकारका रंगको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको समिश्रण भएको परिकार खानु खुवाउनुपर्छ । संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक ६ गते बिहीबार