२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

तिहारको किनमेल गर्न सीमापारि बजारमा नेपालीको घुइँचो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक ५ गते बुधबार

हरेक बर्षझै यस वर्ष पनि तिहारको किनमेल गर्न नेपालगन्ज र सो वरिपरिका अधिकांश उपभोक्ता सीमापारिको रूपैडिहा बजार पुग्ने गरेका छन् । नेपाली बजार सुनसान पारेर सीमापारिको बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । सोही कारणले नेपालगन्ज बजारमा भिड देखिए पनि व्यापार व्यवसाय त्यति राम्रो नभएको स्थानीय व्यवसायीहरुले बताएका छन् ।

हरेकजसो चाडपर्वमा सीमापारि रुपैडिहा पुगेर किनमेल गर्ने परम्परा नै बसिसकेको हुँदा नेपालगन्जमा व्यापार व्यवसाय गर्नु चुनौतीपूर्ण बन्दै गएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष टंक धामीले स्थानीय प्रशासन र भन्सार कार्यालयलाई सीमामा कडाई गर्न पटक पटक आग्रह अनुरोध गरिए पनि सीमापारीबाट घरेलु उपभोगका नाममा धेरै सामान ल्याउने कार्य नरोकिएको बताए ।

उनका अनुसार अहिले सीमापारि रुपैडिहा बजारमा तिहारका लागि खरिदारी गर्ने नेपाली उपभोक्ताका कारण खुट्टा राख्ने ठाउँ छैन भने यता नेपालगन्जमा चहल पहल र भिडभाड बढे पनि व्यापार व्यवसाय भएको छैन । भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउनेहरुसँग नेपालगन्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाई पनि सुरु नगरेको होइन, तर त्यस्तो कडाई सधैं कायम राख्न सकिने अवस्था छैन ।

भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर सामान ल्याउँदा पनि सस्तो पर्ने भएकाले धेरैले भन्सार राजस्व तिरेर सामान ल्याउने गरेको उपभोक्ताले जनाएका छन् । सीमापारि खरिदारीका लागि जाने नेपालगन्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकाले नै उतैबाट ल्याउने गरेको बताएका छन् ।

सीमापारीबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगन्ज र कोहलपुरभन्दा निकै सस्तो परेकाले ल्याउने गरेको बासगढीका उपभोक्ता रमेश परियारले बताए । उनले नेपालगन्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकाले बाध्य भएर सीमापारि गएर सामान ल्याउनुपरेको बताए । रुपैडिहामा जताततै नेपाली उपभोक्ता देख्न सकिन्छ ।

तिहारको समय भएकोले अहिले रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । नेपाली उपभोक्तालाई सीमापारी जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान बिक्री गर्नुपर्ने परियारको सुझाव छ । रूपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्यांक नभए पनि नेपालगन्ज उद्योग वाणिज्य संघले अहिले त्यहाँ दैनिक पाँच करोडदेखि सात करोडसम्मको कारोबार हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ५ गते बुधबार