अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई देशभरका आन्तरिक हवाई उडानमा ठूलो राहत मिल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि लागू हुने गरी हवाई भाडामा विशेष छुट दिने निर्णय गरेको छ ।
प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए । बैठकमा सहमति अनुसार विभिन्न उमेर समूहका ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि छुट दर तोकिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडामा ५० प्रतिशत छुट पाउने छन् । त्यस्तै ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
फरक क्षमता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत भाडा छुट अनिवार्य गरिएको छ । प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई यो व्यवस्था आज (आइतबार) देखि नै लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यो निर्णयले आन्तरिक हवाई सेवामा पहुँच विस्तार र सामाजिक समावेशिताको भावना मजबुत बनाउने अपेक्षा गरिएको छ ।