लिभर सिरोसिस एउटा यस्तो रोग हो जसमा कलेजो गम्भीर रूपमा संक्रमित हुन्छ अनि राम्रोसँग काम गर्न बन्द गरिदिन्छ । हेपाटाइटिस, फ्याटी लिभर, वा लामो समयसम्म रक्सी सेवन जस्ता कारकहरूको कारणले गर्दा कलेजो लामो समयसम्म बिरामी भएपछि लिभर सिरोसिस हुन्छ ।
यसका लक्षणहरूमा थकान, जन्डिस, खुट्टा र पेट सुन्निने, आँखा पहेँलो हुने आदि हुन्छ । यो रोग लागेका भएका व्यक्तिहरूले प्रायः आफ्नो आँखामा परिवर्तन अनुभव गर्छन् । आजको लेखमा हामी तपाईँलाई बेवास्ता गर्नु नहुने यस्तै केही लक्षणहरू बताउनेछौँ ।
कलेजोमा खराबी भएपछि आँखामा देखिने लक्षण :
सुक्खा आँखा
आँखा सुख्खा हुनुलाई जेरोफ्थाल्मिया भनिन्छ । यो लिभर सिरोसिससँग प्रत्यक्ष रूपमा जोडिएको छैन । यो भिटामिन ए को कमीले हुन्छ । यद्यपि, लिभर सिरोसिस खास गरेर अटोइम्यून अवस्था वा हेपाटाइटिससँग सम्बन्धित छ भने यसले आँसुको उत्पादनलाई असर गर्न सक्छ । यसले आँखामा जलन, चिलाउने र केही बिझेको जस्तो महसुस गराउन सक्छ ।
जन्डिस
जन्डिस एक यस्तो रोग हो जसमा तपाईँको छाला, आँखा र श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन्स) पहेँलो हुन्छ । रगतमा बिलिरुबिन भनिने पहेँलो पदार्थको स्तर उल्लेखनीय रूपमा बढेपछि जन्डिस हुन्छ ।
बिलिरुबिन रातो रक्त कोशिकाहरूको विच्छेदनबाट उत्पादन हुन्छ । यसलाई कलेजोले शरीरबाट निकाल्ने काम गर्छ । तर केही गरी कलेजोले राम्रोसँग काम गरेन वा पित्त नलीमा अवरोध भयो भने बिलिरुबिन शरीरमा जम्मा हुन थाल्छ । जसले गर्दा व्यक्तिको छाला र आँखाको सेतो भाग पहेँलो देखिन्छ ।
आँखामा दाग
यसमा आँखाको सेतो भागमा फिँजजस्ता दागहरू बन्छ । रक्सी सेवनका कारण लिभर सिरोसिसले भिटामिन ए को कमी पनि निम्त्याउन सक्छ, जसले गर्दा यी दागहरू बन्दछन् । कलेजोको यस रोगले शरीरमा भिटामिन ए को भण्डारण र कार्यलाई बिगार्छ, जसले गर्दा आँखामा यी समस्याहरू निम्तन्छन् ।
कलेजोले शरीरको लागि रगत सफा गर्ने, शरीरबाट विषाक्त पदार्थहरू हटाउने, बोसो प्रशोधन गर्न पित्त उत्पादन गर्ने र पोषक तत्त्वहरू प्रशोधन गर्ने जस्ता कामहरू गर्छन् । त्यसैले कलेजोमा हुने कुनै पनि क्षतिलाई गम्भीरतापूर्वक लिनुपर्छ । आफूमा यी मध्ये कुनै पनि लक्षणहरू देख्नुभयो भने तपाईंले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।
अस्वीकरण : लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नुहुँदैन । यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।