पूर्वसभामुख कृष्णबहादुर महरालाई आज प्रहरीले पक्राउ गरेको छ । मिति २०७९-०९-१० गते दुई वटा सुट्केशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त सुनको मूल्य आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ आँकलन गरिएको थियो । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले एक विज्ञप्ति जारी गरेर माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ ।
सोही भेपभित्र रहेको सुन आपराधिक समूह बनाई सङ्गठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको सिआइबीले आफ्नो विज्ञप्तिमा जनाएको छ । उनी माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् ।

