बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–०८२ भित्र हातहतियारका घटनामा नौं जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक चार थान, म्याग्जिन एक थान, गोली एक थान, खोका एक थान, नाल चार थान, गज एक थान, केप ९६ वटा, बारुद एक डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।
गत आर्थिक वर्षमा बाँके प्रहरीले हातहतियारसँग सम्बन्धित पाँच वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । आव २०८०–०८१ मा आठ वटा मुद्दा दर्ता भएको थियो । सोही आर्थिक वर्षमा १२ जनालाई हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । छ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र तीन गोली राउण्ड बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९–०८० मा १६ जना व्यक्ति पक्राउ परेका थिए । छ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा प्रहरीले एक थान अटोमेटिक पेस्तोल र ११ थान भरुवा बन्दुक बरामद गरेको थियो । साथै पेस्तोलका नौं राउन्ड गोली र करिब ६०० ग्राम बारुद फेला परेको थियो ।
चालु आर्थिक वर्ष २०८२–०८३ को असोज महिनासम्म कुनै मुद्दा दर्ता नभएको र हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सहकार्य, सीमा क्षेत्रमा कडाइ र सूचनाको प्रभावकारी उपयोगका कारण अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ ।
सत्यपाटी