२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन

सत्यपाटी
सत्यपाटी । हुम्ला । २०८२ असोज २६ गते आइतबार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिएका तुम्लिङमा रहेका उब्जन रावतले बताए ।

हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा सवारीसाधनले सडकको हिउँ छिचोल्न नसकेर आफूहरू पाँच–छ दिनदेखि उतै रोकिनुपरेको रावतले बताए । न्यालु लेकमा परेको तीन फिट बढी हिउँ पन्छाउने कार्य अघि बढ्न सकेको छैन ।

शनिबार दिउँसो घाम लागे पनि यात्रुले हिउँ पन्छाउन खोज्दा नसकिएको उनको भनाइ छ । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनका लागि लिमीको तुम्लिङमा टेलिफोन सेवाले काम नगर्दा साढे एक घण्टा पैदलयात्रा गरिसकेपछि सम्बन्धित निकायमा हिउँ पन्छाउन आग्रह गरेको रावत बताउँछन् ।

हिमपातले बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको तुम्लिङमै रहेका पवन रोकायाले बताए । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य सकभर आज हुने नभए सोमबारसम्म पन्छाइसकिने भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार