२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न अनुमति अनिवार्य

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज २६ गते आइतबार

नेपाल राष्ट्र बैङ्कले क्यासिनो लगायतका संस्थाले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएर मात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधान अनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैङ्कले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

यस्तै, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्था अनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबर मात्र गर्न सकिनेछ । यो व्यवस्था अनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्र कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार गर्न सकिन्थ्यो ।

त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबर मात्र गर्न सकिनेछ । प्रतिदिन रु २० हजार बराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार