२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

नेपाली विद्यार्थीदेखि जुम्ल्याहा दाजुभाइ र इजरायली सैनिकसम्म गाजामा बन्धक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २६ गते आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायलबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा बाँकी रहेका सबै बन्धक सोमबारसम्म रिहा हुने बताएका छन् । हमास र उसका सहयोगीले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

गाजा क्षेत्रमा अझै ४७ बन्धक बाँकी छन् । उनीहरूमध्ये कम्तीमा २० जना जीवित रहेका विश्वास गरिएको छ । इजरायली सरकारले बाँकी ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको घोषणा गरेको छ । तर, अरू दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपीन जोशीको अवस्थाबारे अझै अनिश्चितता कायमै रहेको सीएनएनले जनाएको छ ।

इजरायली सरकारले यसअघि उनीहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको थियो । जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन् । उनीहरूमध्ये एकजनाबाहेक सबै २० देखि ३० वर्ष उमेर समूहका छन् । अघिल्ला युद्धविराम सम्झौतामा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषलाई रिहा गरिएको थियो ।

मारिएका घोषित २६ जनामध्ये इन्बार हाइमन एकमात्र महिला हुन् । अझै जीवित वा अवस्थाबारे अनिश्चित रहेका मध्ये ११ जना नोभा म्युजिक फेस्टिभलबाट अपहरण गरिएका थिए । आठजना दक्षिणी इजरायलका किबुत्ज (साना कृषि समुदाय)बाट र तीन इजरायली सैनिक हुन् । जुम्ल्याहा भाइ जिभ र गाली बर्मन सन् २०३० अक्टोबर ७ को आक्रमणका क्रममा किबुत्ज कफार–अजास्थित घरबाट अपहरणमा परेका थिए ।

त्यसबेला उनीहरू २६ वर्षका थिए । रिहा भएका अरू बन्धकले उनीहरू जीवित रहेका र अलग–अलग राखिएको जानकारी परिवारलाई दिएका थिए । दाजुभाइ एरियल र डेभिड कुनियो किबुत्ज नीर ओजबाट अपहरणमा परेका थिए । उनीहरूसँगै एरियलकी श्रीमती येहौद, डेभिडकी श्रीमती श्यारोन र तीन वर्षीया जुम्ल्याहा छोरीहरू युली र एम्मा पनि अपहरणमा परेका थिए ।

श्यारोन, युली र एम्मा २०२३ को नोभेम्बरमा युद्धविराम अन्तर्गत रिहा भए, जबकि येहौद यो वर्षको सुरुमा मुक्त भएका थिए । एतान हर्न आफ्ना भाइ आइएरलाई भेट्न जाँदा किबुत्ज नीर ओजबाट अपहरणमा परेका थिए । आइएर यो वर्षको सुरुमा रिहा भएका थिए । हमासले मार्चमा एक प्रचार भिडियो जारी गरेको थियो, त्यसमा उनले एतानलाई बिदाइ गरेको देखाइएको थियो ।

मातान जाङ्गाउकर र उनकी साथी इल्लाना ग्रित्जेस्की पनि सोही किबुत्जबाट अपहरणमा परेका थिए । मेक्सिकन नागरिक ग्रित्जेस्की २०२३ नोभेम्बर ३० मा रिहा भएकी थिइन्, जाङ्गाउकरलाई भने पछाडि छाडिएको थियो । ओम्री मिरान (त्यस बेला ४६ वर्षका) किबुत्ज नाहाल ओजस्थित उनको परिवारको घरमा हमासका बन्दुकधारी पसेपछि अपहरणमा परेका थिए ।

म्युजिक फेस्टिभलबाट अपहरित

गाइ गिल्बोआ–दलाल र एभियातार डेभिड बाल्यकालका घनिष्ठ साथी हुन्, जसलाई नोभा म्युजिक फेस्टिभलबाट सँगै अपहरण गरिएको थियो । २०२५ फेब्रुअरीमा हमासले उनीहरूले अरू बन्धक रिहा भइरहेको हेरिरहेको भिडियो टेलिग्राममा पोस्ट गरेको थियो । अविनातान ओर आफ्नी प्रेमिका नोआ अर्गामानीसँगै नोभा फेस्टिभलबाट अपहरणमा परेका थिए ।

नोआलाई २०२४ जूनमा इजरायली सेनाको कारबाहीमा गाजाको मध्य भागबाट उद्धार गरिएको थियो । अलोन ओहेल, योसेफ–चाइम ओहाना, एल्काना बोहबोट, सेगेभ काल्फोन, म्याक्सिम हर्किन, एतान अब्राहम मोर, बार कुपरस्टाइन र रोम ब्रास्लाभ्स्की पनि सोही फेस्टिभलबाट अपहरणमा परेका थिए ।

अक्टोबर ७ मा अपहरण गरिएका सैनिक

इजरायली सेनाका जवानहरू निम्रोड कोहेन, मातान एङ्ग्रेस्ट र तामिर निम्रोडी गाजामा अझै बन्धक रहेकामध्ये सबैभन्दा कम उमेरका हुन् । कोहेनलाई मार्च १ मा हमासको प्रचार भिडियोमा देखाइएको थियो ।

विदेशी नागरिक

नेपाली विद्यार्थी विपीन जोशी इजरायलको दक्षिणी भागस्थित किबुत्ज अलुमिमको एक कृषि फार्ममा काम गर्दा अपहरणमा परेका थिए । उनको परिवारले यसै हप्ताको सुरुमा विपीन जीवित रहेको पुरानो भिडियो हालै इजरायली सेनाले गाजामा फेला पारेको जनाएको थियो ।

जोशीबाहेक अरू तीन विदेशी नागरिक पनि गाजामा छन्, जसमा थाइल्यान्डका दुई र तान्जानियाका एकजना छन् । थाइल्यान्डका सोनथाया ओक्खाराश्री र सुद्थिसाक रिन्थलाक तथा तान्जानियाका जोशुआ मोलेललाई इजरायली सरकारले मृत घोषणा गरिसकेको छ ।

मृत अमेरिकी नागरिक

सरकारले मृत घोषणा गरेका २६ बन्धकका शव पनि सम्झौताअनुसार फिर्ता गरिनेछ । तर, इजरायली स्रोतले हमासलाई सातदेखि १५ बन्धकको शव कहाँ छ भन्ने थाहा नहुन सक्ने वा फिर्ता गर्न असमर्थ हुन सक्ने बताएका छन् । मृत घोषितमध्ये ओमर म्याक्सिम न्युट्रा र इताय चेन अमेरिकी र इजरायली दोहोरो नागरिकता भएका सैनिक पनि समावेश छन् ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार