२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

साल्ट ट्रेडिङले भन्यो, ‘जुम्लामा नुन अभाव छैन’

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ असोज २५ गते शनिबार

साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिजा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्वीन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्वीन्टल नुनको कोटा रहेको छ ।

कार्यालय प्रमुख थापाले भने, ‘जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे छ । दशैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरण हुने गरेको छ । वडाको माग बमोजिम नुन वितरण भइराखेको छ ।’

वितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हारहारीमा कोटाहुने गरेको थियो । नुन उपझोक्तालाई पुर्याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपझोक्तालाई सहजरूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए ।

सदरमुकाम सहित तीनै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपझोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ । जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ भने स्थानीयवासी पनि खुसी छन् ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार