२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

देशभरबाट बाहिरियो मनसुन, कोशीतिर हल्का वर्षाको सम्भावना

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालको सम्पूर्ण भू–भागबाट मनसुन बाहिरिएको हो ।

यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी शुक्रबारदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ भने कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णाली लगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।

मनसुनको उत्तराद्र्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए । उनका अनुसार यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गत जेठ १५ गते मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिन २३ दिन लागेको थियो ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार