२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

कमजोर हुँदै मनसुनी र स्थानीय वायु, धानबाली काट्दा हुन्छ ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज २४ गते शुक्रबार

यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रममा रहेकाले मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । स्थानीय वायुको प्रभाव पनि कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको महाशाखाले बताएको छ । पश्चिमी, मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेका कारण धेरै स्थानमा वर्षाको सम्भावना छैन । महाशाखाका अनुसार दिउँसो कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले एकदुई स्थानमा मात्रै वर्षा हुने प्रष्ट पारेको छ । हल्का वर्षा हुने उसले बताएको छ । महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यो वर्षको मनसुन प्रणाली बाहिरिसकेको यसअघि नै घोषणा गरिसकेको छ ।

बाँकी भूभागमा पनि मनसुनी वायुको कमजोर प्रभाव रहेको बताएको छ । जलवायुविज्ञ धर्मराज उप्रेती भने मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको बताउँछन् । ‘अबको तीनदेखि चार दिन नेपालमा पानी पार्ने कुनै सक्रिय प्रणाली छैन । मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको छ । तर, आधिकारिक घोषणा हुन बाँकी छ,’ उनी भन्छन्, ‘मनसुनी वायु निकै कमजोर भइसकेको हुनाले अबको बढीमा दुईदेखि चारदिनमा पूर्वी भागबाट पनि बाहिरिएको घोषणा हुनेछ ।’

पश्चिमी नेपालमा बिहीबार मौसम सफा रहेको र अझै केहीदिन मौसम सफा रहेकाले किसानले पाकेको धान भित्र्याउन उपयुक्त समय भएको जलवायुविज्ञ उप्रेतीले बताएका छन् । ‘कम्तीमा अबको तीन दिन ठूलो वर्षाको सम्भावना छैन । वर्षा भए पनि कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अपराह्नपछि हल्का वर्षा हुनेछ, त्यो पनि छोटो समयमा लागि,’ विभागका मौसमविद् रोजन लामिछाने भन्छन् ।

उनका अनुसार केही भूभागबाट बाहिरिसकेको मनसुन प्रणाली बाँकी ठाउँबाट पनि केही दिनमा बाहिरिने क्रममा छ । मौसममा सुधार आउँदै गएको उनी बताउँछन् । केही ठाउँमा केही समय बादल लागे पनि अबको केही दिन मौसम सफा नै रहने उनको भनाइ छ । ‘धानबाली कहिले काट्ने भन्ने त अवस्था हेरेर गर्ने निर्णय होला,’ मौसमविद् लामिछाने भन्छन्, ‘तर, अबको कम्तीमा तीन दिन मौसम सफा रहनेछ । र, मनसुन पनि बाँकी रहेका स्थानबाट बाहिरिँदै जाने क्रममा छ ।’

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार