२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

नेपालगन्जको जुवा अड्डाबाट बरिष्ठ सईसहित १४ पक्राउ, साढे १३ लाख बरामद

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज २३ गते बिहीबार

बाँके प्रहरीले नेपालगन्जमा सञ्चालन भइरहेको एक जुवा अड्डामा छापा मारेको छ । नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा इन्स्पेक्टर यमबहादुर बुढा मगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज–४ बाइपासमा रहेको मौरी रेष्टुरेन्टको जुवाखालमा छापा मारेको हो ।

जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख ६३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, महम्मद सफिक बेहना, रमेश शाही, संगम शाह रहेका छन् ।

प्रहरीका अनुसार अन्य जुवाडेहरुमा मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन् । मौरी रेष्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८०० रुपैयाँ र तासका गड्डी समेत बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार