२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

दशैं अवधिमा बाँकेबाट दुई करोड ३८ लाख बढीका खसीबोका बिक्री

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज २३ गते बिहीबार

दशैं अवधिभर बाँके जिल्लाबाट दुई करोड रुपैयाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् । दशैं सुरु भएदेखि असोज २० गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत दुई करोड ३८ लाख १० हजार ८१७ रुपैयाँ बराबरका ४३ हजार ५९३ किलो तौल भएका एक हजार ३५१ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् । दशैंमा सबैभन्दा बढी राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ ।

संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले ३१ लाख ८१ हजार ७५० रुपैयाँ बराबरका ५ हजार ७८५ किलो तौल भएका १७८ वटा खसीबोका बिक्री गरेको छ । त्यसपछि राप्तीसोनारी–७ लालपुरमा रहेको परिवर्तनले ३१ लाख ६८ हजार ८७० रुपैयाँका खसीबोका बिक्री गरेको छ । संस्थाका व्यवस्थापक पम्फा परियारले उक्त रकम बराबरका पाँच हजार ९७९ किलोग्राम तौल भएका २१३ वटा खसीबोका बिक्री गरिएको जानकारी दिए ।

त्यसैगरी राप्तीसोनारी–७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले २५ लाख ८३ हजार ९०० रुपैयाँ बराबरको ४ हजार ७८५ किलो तौल भएका १४५ वटा खसीबोका बिक्री गरेको संस्थाका व्यवस्थापक नसरुदिन शेषले जानकारी दिए । राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले २४ लाख २७ हजार ३६० रुपैयाँ बराबरका ४ हजार ४७१ किलो तौल भएका १४८ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थाले २३ लाख ६५ हजार ८२५ रुपैयाँका खसीबोका बिक्री गरेको प्रवन्धक गङ्गा खुनाले जानकारी दिइन् । उनका अनुसार चार हजार ३३९ किलो तौल भएका ९५ वटा खसीबोका बिक्री भएका हुन् । त्यसैगरी राप्तीसोनारी–४ धामपुरस्थित सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थाले २० लाख ३३ हजार २७ रुपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिए । उनका अनुसार ३ हजार ६५३ किलोग्राम तौल बराबरका १११ वटा खसीबोका बिक्री भएका थिए ।

बैजनाथ–४ एकासीनगरस्थित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले १९ लाख ७५ हजार रुपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार ३ हजार ५९० किलोग्राम तौल बराबरका ११० वटा खसीबोका बिक्री भएका हुन् । राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले १८ लाख ८८ हजार ४२५ रुपैयाँ बराबरका ३ हजार ४३३ किलो तौल भएका १०४ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताइन् ।

अप्सरा साउमससंले ११ लाख ५७ हजार ८०० रुपैयाँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताइन् । उनका अनुसार दुई हजार १७ किलोग्राम तौल बराबरका ६७ वटा खसीबोका बिक्री भएका हुन् । बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले १० लाख ६३ हजार ९१० रुपैयाँ बराबरका खसीबोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारुका अनुसार एक हजार ९४५ किलोग्राम बराबरका ६१ वटा खसीबोका बिक्री गरिएको हो । कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले १० लाख ३६ हजार ७४० रुपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिए ।

उनका अनुसार १ हजार ८६८ किलोग्राम तौल बराबरका ६० वटा खसीबोका बिक्री भएका हुन् । सशक्तीकरण सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ९२ हजार ९७५ रुपैयाँका खसीबोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिए । उनका अनुसार ७१४ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका हुन् । बैजनाथ–८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ५९ हजार ६६० रुपैयाँका खसीबोका बिक्री गरिएको व्यस्थापक गौमती गुरुङले जानकारी दिइन् ।

उनका अनुसार ६७७ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका छन् । सङ्गिनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले एक लाख ७५ हजार ६०५ रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिइन् । उनका अनुसार ३३७ किलोग्राम तौल बराबरका १३ वटा खसीबोका बिक्री भएका हुन् । बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका हुन् ।

जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् । किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपैयाँसम्म नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दशैंको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दै गएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार