२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

लिची बगान घुस प्रकरण : दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज २२ गते बुधबार

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जग्गा घोटाला प्रकरणमा मुछिएका गुप्ता नेकपा एमालेका नेता हुन् भने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष हुन् । उनीहरूसँग ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

तत्काली संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता र बिचौलियाबीच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो, पोखरा बाटुलेचौर मार्गमा रहेको लिची सोही गार्डेन । पूर्वमन्त्री गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

आफूले चाहेको व्यक्तिको नाममा दर्ता गराउन ती बिचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्तासँग घुसको डिल गरेका थिए । उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ । अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ ।

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो । घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार