निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बैठकले सोमबार यो कार्यतालिका स्वीकृत गरेको हो । आयोगले ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारासहित निर्धारित कार्यतालिका अनुसार सबै प्रक्रिया अघि बढाउने बताएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्तीमार्फत निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने जनाएका छन् । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ, जसअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ)का लागि निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ । निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ, त्यसपछि मौन अवधि सुरु हुनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ र मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतगणना सुरु गरिनेछ । निर्वाचन प्रक्रियामा भाग लिन चाहने दलहरूका लागि आयोगले महत्त्वपूर्ण प्रावधान स्पष्ट पारेको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था छ । यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने दलहरूले अनिवार्य रूपमा २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । आयोगले निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई निरन्तरता दिने पनि बताएको छ ।
सत्यपाटी