२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज २१ गते मंगलबार

पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत गण्डकी प्रदेशमा बदली भई केही स्थानमा मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ । महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी पहाडी क्षेत्रमा भूक्षय र बाढीको जोखिमलाई ध्यानमा राख्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार