धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ थापाकटेरीमा छोराले आमाको विभत्स हत्या गरेका छन् । आइतबार राति ८ बजे घरमा बसिरहेका बेला जिरे भनेर चिनिने यमबहादुर कडेँलले धारिलो हतियार प्रहार गरि ६३ वर्षीय आमा राममाया कडेँलको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार राति यमबहादुरले लागुपदार्थ सेवन गरेर आमाको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । घटनाको खबर गाउँमा फैलिएपछि जिल्ला प्रहरी कार्यालय, सल्यानटार र सल्यानकोट इलाका प्रहरीको टोली राति राति ९ बजे नै स्थानीय जनप्रतिनिधिसहित घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा यमबहादुर काँधमा हतियार राखेर ७७ वर्षीय बुबालाई कसैलाई फोन नगर्न र घटना लुकाउन धम्कि दिइरहेका थिए ।

धादिङ, त्रिपुरासुन्दरी–५ स्थित मृतक राममाया कँडेलको घर ।
प्रहरीले उनलाई पक्राउ गरी आमाको शव बिहान ४ बजे शव जिल्ला अस्पताल ल्याएको थियो । ‘हत्याको कारण थप अनुसन्धानपछि मात्रै खुल्नेछ,’ जिल्ला प्रहरी प्रमुख रिजालले भने । तीन दाजुभाइमा कान्छा ३० वर्षीय यमबहादुर लामो समयदेखि लागुपदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । पोर्चुगल र फिनल्याण्डमा रहेका छोराहरु आएपछि मात्र उनको अन्तिम संस्कार गरिने वडाध्यक्ष सिटौंला बताए ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमासहभागी यमबहादुरले प्रदर्शनका क्रममा प्रहरीसँग भनाभन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यसबेला उनले प्रहरीलाई आफ्ना आमाबुबा र देशको बारेमा चिन्ता गर्नु भन्दै विवाद गरेका थिए । तर, उनै कडेँलले आफ्नो जन्म दिने आमाकै हत्या गरे । त्रिपुरसुन्दरी–५ का वडाध्यक्ष कुशबहादुर सिटौंलाका अनुसार घटनास्थल पुगेका प्रहरीमाथि पनि यमबहादुरले आक्रमणको प्रयास गरेका थिए ।

जिरे भनेर चिनिने यमबहादुर कडेँल ।
आमाको हत्या गरेपछि यमबहादुरले १२ वर्षीय भान्जालाई आक्रमण प्रयास गरे । तर, भान्जा भाग्न सफल भए । त्यसपछि बुबामाथि पनि हतियार प्रहार गर्न खोजे । आमाको हत्या गरेपछि बाबुलाई मैले ठिक गरे नि होइन भनेर सोधेपछि बुबाले ठिक हो भनेर ज्यान जोगाएका थिए । अन्य समय काठमाडौंमा बस्ने यमबहादुर फुलपातीमा घर गएका थिए । परिवारसँग उनको केही दिनअघि पनि घरमा झगडा परेको छिमेकीले प्रहरीलाई बताएका छन् ।
गाउँकै महिलामाथि पनि हतियार प्रहार
आपराधिक काम गर्ने समूहमा आवद्ध भएकाले बेला बेला यमबहादुरको गाउँमा झगडा परिरहन्थ्यो । वडाध्यक्ष सिटौंलाका अनुसार २०६९ सालमै ‘ग्याङफाइट’का क्रममा यमबहादुरले अर्को समूहको व्यक्तिलाई धारिलो हतियार प्रहारको प्रयास गरे । तर ती व्यक्ति भागेपछि घरमै गएर उनकै आमामाथि हतियार प्रहार गरे । ती महिलाको पेटमा गम्भिर चोट लागेको थियो । त्यही बेला पनि यमबहादुर पक्राउ परेका थिए ।
उनका समूहका व्यक्तिहरु अहिले पनि धादिङ, नुवाकोट, रसुवाका कारागारहरुमा छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हिरासतबाट छुटेको केही समयपछि काठमाडौं आएका यमबहादुर आपराधिक कार्यमा संलग्न भएको आरोपमा काठमाडौंमै पनि पटक–पटक पक्राउ परेका थिए । यसअघि उनले नख्खु कारागारमा बसेर जेल सजाय भोगेका थिए । त्यसैगरी, प्रहरी वृत्त स्वयम्भू र तत्कालीन प्रहरी परिसर हनुमानढोकामा हिरासतबाट उनलाई निकालेको यमबहादुरका बुबाले प्रहरीलाई भनेका छन् ।
सत्यपाटी