२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

जेनजी अगुवाले समाजिक सञ्जालमा चलाए ‘एरेस्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २० गते सोमबार

जेनजी युवाहरुले सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान चलाएका छन् । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट सत्ता गुमाएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा चलाइएको अभियान अन्तरगत सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरूलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ ।

यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् । उनीहरूलाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन उनले आह्वान गरेका छन् । जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि नै ओली लगायतलाई राजधानी बाहिर जानसमेत रोक लगाइएको छ । जेनजी आन्दोलनका क्रममा ओली र लेखकको घरमा आगजनी र तोडफोड गरिएको थियो ।

‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’ यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् । योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखिरहेका छन् । आन्दोलनका क्रममा ओली सरकारले दमन गरेको जेनजीहरुको दाबी रहेको छ ।

जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ । ओली भने जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश नदिएको र त्यो चलाएको गोली पनि नेपाल प्रहरीले चलाएको हुन नसक्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार