धादिङमा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका यमबहादुर कडेँलको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग संवाद गर्दै जंगिएको भिडिओ यतीबेला भाइरल बनेको हो ।
हातमा हेल्मेट बोकेको यमबहादुरले प्रहरीलाई सक्छौ भने गोली हान्नु न सर, म डराएको छु ? हेर्नू त मेरो आँखामा डर छ सर ? भन्दै प्रहरीसँग संवाद गरेको भिडिओ जेनजी प्रदर्शनकै क्रममा भाइरल थियो । उक्त भिडियो पुनः भाइरल बन्नुको कारण हो, देशका लागि सडकमा उत्रिएका युवाले आफ्नै जन्मदिने आमालाई भाला प्रहार गरी गरेको हत्या ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ३० वर्षका यमबहादुरले आफ्नै ५५ वर्षीया आमा राममायाको हत्या गरेको अवस्थामा छिमेकीहरुले फेला पारेर प्रहरीलाई खबर गरिदिएका थिए । राममायाको शरीर र टाउको छुट्टीएको अवस्थामा फेला परेपछि प्रहरीले यमबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धादिङमा राखेको छ ।
यता, राममायाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको प्रहरीले जनाएको छ । यमबहादुर सानैदेखि निडर स्वभावको रहेको र हालसम्म प्रहरीकोमा उनीविरुद्ध तीन–चार वटा मुद्दाहरु समेत रहेको पाइएको स्थानीय जनप्रतिनिधि बताउँछन् । सोही वडाका वडाध्यक्ष कुशबहादुर सिटौलाका अनुसार काठमाडौँमा एड्भेञ्चर अफिस चलाएर बस्ने यमबहादुर फूलपातिको दिन दशैँ मनाउन घर आएका थिए ।
उनीघर आएदेखि घरमा कुनै झै–झगडा भएको थिएन । आइतबार राति १० बजेतिरको समयमा खाना आएर राममाया र उनका ७० वर्षीय श्रीमान् रामबहादुर कडेँल सुत्नका लागि घरको माथिल्लो तल्लामा गएका थिए । केहीबेरमै यमबहादुरले तलबाट ठूलो स्वरमा कराए ।
मृतक राममायाका श्रीमान् रामबहादुरको भनाइ उदृत गर्दै वडाध्यक्ष सिटौलाले भने, ‘छोराले तल बोलाएपछि हत्तारमा दुवैजना तल झर्नुभएछ । सोही बेला आमा आँगनमा आइनपुग्दै यमबहादुरले खुँडाले तीनपटक गर्धनमा हान्यो रे । त्यति गर्दा पनि टाउको नछिनेपछि टाउको समातेर रेटेर टाउको केही पर फालिदिएको रहेछ ।’
श्रीमतीलाई छोराले हत्या गरेको रामबहादुरले हेरिहरे । यमबहादुरले पख अब तिमीहरु दुईजनाको पालो भन्दै १२ वर्षका भान्जा र रामबहादुरलाई खुँडा तेर्साएपछि भान्जा भागेर गाउँमा मान्छे बोलाउन निस्किएको वडाध्यक्ष सिटौलाले जानकारी दिए ।
‘हामी पुग्ने बेलासम्ममा आमा दुई टुक्रा बनाइसकेको थियो । बाबुचाहिँ पनि सख्त घाइते अवस्था भेटिए,’ उनले भने, ‘बावुलाई पनि मार्न खोजेको रैछ । मैले आमा मारेर राम्रो गरेँ कि गरिनँ भन त ? भन्दै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनका लागि बुवाले छोराकै सर्पोट लागेर ठिक गरिस् बाबु भन्दै हौसाएर राखेका रहेछन् । छिमेकी पुग्दा छिमेकीलाई नै मार्न खोजेको थियो । प्रहरी आएपछि मात्रै खुँडा हातबाट छोडेको हो ।’
लागुऔषध तथा मादकपदार्थ समेत सेवन गर्ने यमबहादुर यसअघि पनि ज्यानमार्ने अभियोगको दुईवटा मुद्दा खेपिरहेका व्यक्ति रहेको उनले बताए । उनले अभद्र व्यवहार, ज्यान मार्ने कसुर, लागुऔषध मुद्दा लगायतको मुद्दामा पटक पटक जेल सजाय भोगेका थिए ।
सत्यपाटी