२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

वर्षाले जनधनको ठुलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २० गते सोमबार

देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरण अनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् । रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ ।

पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि विभिन्न कारणले मानवीय क्षति भएको छ । विशेषगरी पहिरो, बाढी, चट्याङ र खोलाको बगावटले मानवीय क्षति पुर्याएको बताइएको छ ।

इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा परेर गर्भवती महिलासहित दुई जना फसेका थिए भने झापामा बाढी र डुबानमा परेका १६ जनाको हेलीकोप्टरमाफृत उद्धार गरिएको हो । नेपाल सरकारको गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले राहत वितरण, उद्धार तथा पहिरो प्रभावित क्षेत्रमा सडक तथा संचार व्यवस्था पुनःस्थापनाका लागि काम गरिरहेका छन् । सरकारले थप वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार