२०८३ भदौ ८ , सोमबार 24, August 2026, Monday

मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त

लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्णरूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूलाठूला पहिरो खसेका छन् । फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ । माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पर्याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको छ । यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।

इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् । त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन् । स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एपीएफसँगै उद्वारमा खटियो भारतीय एसएसबी

लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । प्रभावित क्षेत्रका बासिन्दाको उद्धारका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपालसँगै भारतीय सुरक्षाकर्मी सशस्त्र सीमा बल (एसएसबी) पनि संयुक्त रुपमा उद्धार कार्यमा खटिएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र भएकाले सशस्त्र प्रहरी बल नेपाल नं.१ श्रीअन्तु गण र भारतीय एसएसबी २६ बटालियनका टोलीबीच समन्वयमा उद्धार कार्य जारी रहेको बताइएको छ । २६ बटालियनबाट इन्सपेक्टरको कमान्डमा आएको एसएसबी टोली एपीएफसँग मिलेर जनजीवन र क्षतिग्रस्त संरचनाको उद्धारमा सहयोग गरिरहेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार हालसम्म इलामका विभिन्न स्थानीय तहमा पहिरोका घटनाबाट १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच जनाको, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा तीन जनाको, देउमाई नगरपालिका–५ धारेमा एक जनाको र सोही वडाको धुसुनेमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार