अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको वहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खोलिएको बताए ।
कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड चार लाख ३१ हजार ५२५ क्युसेक बहाव मापन गरिएको छ । यो खतराको तहभन्दा माथि हो । प्रहरी प्रवक्ता खतिवडाका अनुसार बिहान ९ः४५ सम्ममा बहाव उच्च देखिएको छ ।
आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो । यसअघि शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । कोशीमा तीन लाख क्युसेक बहाव पुगेपछि खतराको तह पार गरेको मानिन्छ । ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीन वटा रातो बत्ती बालिएको छ ।
सुनसरी, मोरङ र झापा सहितका तराई भेगहरूमा नदीहरूको बहाव बढेसँगै डुवानको स्थिति सिर्जना भएको छ । प्रहरीका अनुसार धेरै स्थानमा आवागमन अवरुद्ध भएको छ भने जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । ‘नजिकको बस्ती उठाएर सुरक्षित स्थानमा सारिएको छ,’ प्रहरी प्रवक्ता खतिवडाले भने ।
