२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

दशैँमा जमुनाह नाका भएर दुई लाख नेपाली स्वदेश फर्किए

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ असोज १९ गते आइतबार

हिन्दुको महान् पर्व बडादशैँ मनाउन का लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली जमुनाह नाका भएर भारतबाट स्वदेश फर्किएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १६ गतेसम्म जमुनाह नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले सो अवधिमा जमुनाह नाका भएर करिब एक लाख मानिस नेपालबाट भारत गएको पनि बताए । प्रहरीले पर्वलक्षित यात्रु सहायता कक्ष स्थापना गरेका कारण सीमा क्षेत्रमा आउने यात्रुका लागि सहज भएको थियो ।

नाकामा भीड अत्यधिक बढेपछि यात्रु ठगिने गुनासा आएपछि प्रहरीले पर्वलक्षित सुरक्षा हेल्प डेस्क स्थापना गरेर यात्रुलाई विभिन्न सहयोग तथा सूचनाका सेवा प्रदान गरेको हो । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले भारतबाट आउनेलाई होटेल व्यवसायी, रिक्सा, अटो र गाडीचालकले समेत ठग्न थालेको गुनासो व्यापक भएपछि प्रहरीको सहयोगमा नाकामै बसेर निगरानी बढाइएको र यात्रुलाई ठगिनबाट जोगाइएको बताए ।

विदेशमा बस्दा नेपाली सुरक्षित हुने तर आफ्नो मुलुकमा पुगेपछि ठगिने पीडा एकदमै गलत भएको उनले बताए । रोजगारीको उद्देश्यले भारतको टिहरी गढवाल पुगेर दशैँ मनाउन फर्किएका दैलेख नौमुलेका दीपक थापाले अर्काको देशमा गएर काम गर्न निकै गाह्रो भएको र स्वेदश आउँदा नाकामै नेपालीबाट पीडित हुनुपर्दाको तितो अनुभव सुनाए । उनले अब देशमै केही काम पाउने र गर्ने वातावरण बन्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार