२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

कोसी ब्यारेजमा पानीको बहाब उच्च, ५६ मध्ये ५० ढोका खोलिए

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८२ असोज १९ गते आइतबार

सुनसरीको कोसी ब्यारेज भएर बहने पानीले सतर्कता तह पार गरेको छ । आइतबार बिहान ८ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर तीन लाख ३५ हजार ३६० क्युसेक प्रतिघण्टा पानी बगिरहेको छ । पानीको यो बहाब असाध्यै खतराको सङ्केत भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

कोसी ब्यारेजमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ५० वटा ढोका खोलिएका छन् । सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार ब्यारेजको पुलमा अहिलेसम्म सवारी साधनहरू रोकिएका छैनन् । तर, अब पानीको बहाव बढ्दै गएकोले पुलमा आवत जावत रोक्नु पर्ने अवस्था आउन सक्ने उनले बताए । सप्तकोसी नदीमा बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि सप्तकोसी नदी भएर बहने पानीले सतर्कता तह पार गरेकाले बाढी र डुबानबाट बच्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ । भारी वर्षा भइरहेको र यो क्रम आज बेलुकासम्मै निरन्तर रहने हुनाले कोसी नदीमा बाढी बढिरहेको छ,’ सूचनामा भनिएको छ, ‘बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार