२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

सत्यपाटी
सत्यपाटी । चितवन । २०८२ असोज १९ गते आइतबार

अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो । शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् ।

उनका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजना अनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

धादिङ, तनहुँ लगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको प्रहरी नायब उपरीक्षक खनालका जानकारी दिए । उनका अनुसार सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलता अनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहन समेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार