अविरल वर्षासँगै देशका विभिन्न सडकखण्डमा पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ । प्रहरीले दिएको जानकारीअनुसार भक्तपुरको साँगा झोलुङ्गेपुल नजिक खसेको पहिरोले सवारीसाधन चल्न सकेका छैनन् ।
त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलाको पुल नजिकै खसेको पहिरोका कारण पनि सडक अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ को टाकुचे र टिकाभैरव क्षेत्रमा पहिरो झरेपछि सडक बन्द भएको छ भने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारमा पर्ने डोडारे खोलामा आएको बाढीका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्डमा यातायात रोकिएको छ ।
विपी राजमार्गमा समेत ठूलो असर परेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोले सडक अवरुद्ध छ भने मंगलटार खोलामा आएको बाढीले सडक कटान गर्दा आवागमन ठप्प भएको छ । सोही अवरोधले यात्रुहरू गन्तव्यतर्फ जान सकिरहेका छैनन् । हेटौडा–भैसे–नौबिसे सडकमा समेत अविरल वर्षाले विभिन्न स्थानमा पहिरो ल्याएपछि यातायात पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिँदा र धुलिखेल–खावा तथा ५४ किलोमा गएको पहिरोले समेत सवारी सञ्चालन रोकिएको छ । कोशी राजमार्गमा संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूण क्षेत्रमा खसेको पहिरोका कारण सडक बन्द भएको छ ।
पासाङल्हामु राजमार्गमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण यातायात पूर्णरूपमा प्रभावित छ । सोही गाउँपालिकाको रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएपछि अझैसम्म सञ्चालनमा आउन सकेको छैन । प्रहरीले यात्रुहरूलाई जोखिमपूर्ण अवस्थामा यात्रामा ननिस्कन आग्रह गर्दै सुरक्षित यात्राका लागि भरपर्दो सूचना लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ ।
