शनिवार बिहानैदेखि परेको अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये आज रातिसम्म १५ वटा ढोका खोलिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।
हिजो दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो । साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार