२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

काठमाडौंतिर सर्दै थप वर्षा गराउने प्रणाली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १८ गते शनिबार

शनिबार बिहानबाट नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने प्रणाली पर्साको वीरगञ्ज आसपासको क्षेत्रबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज आसपासका क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ ।

पछिल्ला विवरणहरू हेर्दा पानी पर्ने मात्रा वीरगञ्जबाट जितपुर, निजगढ, हेटौडा हुँदै दक्षिणी भागबाट काठमाडौं उपत्यकातिर बढ्दो क्रममा छ । धेरै वर्षा भएका ठाँउहरू हेर्दा वीरगञ्ज आसपासका क्षेत्र छन् । काठमाडौंका उत्तरी भागको तुलनामा दक्षिणी भागमा बढी पानी परेको देखिन्छ ।

मौसमविद्हरूले काठमाडौं उपत्यकामा शनिवार अपरान्हदेखि भारी वर्षा हुने प्रणाली थप सक्रिय हुने चेतावनी दिएका थिए । पछिल्लो २४ घण्टाको अवस्था हेर्दा बीरगञ्जमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसपछि बाराको कलैयामा १४० मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा गोदावरीमा सबैभन्दा बढी ८२ दशमलव ४ मिलिमिटर पानी परेको छ । २४ घण्टामा १४० मिलिमिटर वा त्यो भन्दा बढी पानी पर्नुलाई ‘चेतावनीको तह’मा पुगेको मानिन्छ । त्यस्तो अवस्थामा पहाडी भेगमा पहिरो र तराईमा डुबानको जोखिम हुन्छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा बढी रौतहटमा २९ दशमलब ८ मिलिमिटर पानी परेको छ । त्यसपछि रौतहटमा २२ दशमलव ८ मिलिमिटर पानी परेको छ । पर्सामा २१, बारामा १५ दशमलव ८ र वीरगञ्जमा १३ दशमलव ६ मिलिमिटर पानी परेको छ । एक घण्टाको मात्रै तथ्यांक हेर्दा जनकपुरसम्म भारी वर्षा भएको देखिन्छ ।

बारा, सिमरा, मकवानपुरगढी क्षेत्रमा पनि १० मिलिमिटरभन्दा बढी पानी परेको छ । पछिल्लो एक घण्टामा काठमाडौं उपत्यकामा ललितपुरको लेलेमा सबैभन्दा बढी पानी परेको छ । लेलेमा १२ दशमलव २ मिलिमिटर पानी परेको छ । पनौतीमा १४ मिलिमिटर पानी परेको छ । नैकाप, नगरकोट र नालामा ९ मिलिमिटर आसपासमा वर्षा भएको छ । उपत्यकाको अरु ठाँउमा त्यो भन्दा कम पानी परेको देखिन्छ ।

२४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान

लगातारको वर्षाले देशभरका प्रमुख नदीहरूमा बाढीको जोखिम बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा तराईका पर्सा, रौतहट र सर्लाहीमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।

विभागले आगामी २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको र बाढी तथा पहिरोको उच्च जोखिम रहने चेतावनी जारी गरेको छ । बागमती, कमला र पूर्वी राप्ती नदीहरूमा पानीको सतह खतरनाक तह नाघ्ने सम्भावना छ ।

यस्तै, काठमाडौं उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र विष्णुमती नदीहरूमा पनि पानीको बहाव तीव्र रूपमा बढेर सतर्कताको तह नजिक पुगेको छ।रातको समयमा डुबान र नदी कटानको जोखिम रहेको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराईका बागमती, पूर्वी राप्ती, कमला, कोसी र कन्काई नदी क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्र घोषित गरिएको छ । कोसी र बागमती प्रदेशका नदी किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न, सजग रहन र अनावश्यक जोखिम नलिन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार