२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

आकाश मार्ग हुँदै विदेशिएका १४२ नेपाली बाकसमा फर्किए

गुजारा नचलेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको छ । दैनिक सरासर दुई हजार ५०० नेपाली रोजगारीका लागि विदेशिँदा उनीहरूमध्ये थुप्रैका सपनाहरू परदेशमै टुट्छन् । साहुको ऋण तिर्ने, घर–जग्गा जोड्ने र परिवारलाई खुसी पार्ने आशा बोकेर गएका युवामध्ये कैयौं बाकसमा कैद शव बनेर मात्र फर्कन्छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा (साउन–भदौ) १४२ जनाको मृत्यु भएको छ । साउनमा ४३ र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो। तीमध्ये ८३ जनाको शव बोर्डको खर्चमा ल्याइयो भने बाँकी कम्पनी तथा अन्य निकायको सहयोगमा त्रिभुवन विमानस्थलसम्म पुर्याइयो ।

गत वर्ष २०८१–०८२ मा मात्रै एक हजार ८६ जनाको शव नेपाल ल्याइएको थियो । यसैबीच, चालु वर्षका दुई महिनामै २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव निःशुल्क घरसम्म पुर्याउँदै आएको छ ।

साथै बोर्डले मृतक परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने अंगभंग तथा विरामी श्रमिकलाई सात लाखसम्मको उपचार खर्च उपलब्ध गराउने र मृतक वा अशक्त श्रमिकका छोराछोरीलाई विद्यालय तहसम्म छात्रवृत्ति दिने व्यवस्था गरेको छ । आर्थिक सहायता पाउन मृत्यु वा दुर्घटना भएको एक वर्षभित्र निवेदन दिनुपर्ने र सबै कागजात आधिकारिक निकायबाट प्रमाणित हुनुपर्ने शर्त तोकिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार