२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

थारु गाउँबस्तीमा सखिया नाचको रौनक (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ असोज १७ गते शुक्रबार

बर्दियाको राजापुर नगरपालिका–५ खल्लाजयपुरका थारु समुदायमा अहिले ‘सखिया नाच’को रौनकले भरिएको छ । दशैँअघि सुरू भएर दशैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो ।

थारु गाउँमा दशैँसँगै सखिया नाचको रौनक आउने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए । उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जतिधेरै मादल बज्यो त्यति रौनक आउँछ ।

२० देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ । ‘नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सदै गएको र थारु संस्कृति जोगाइराख्न पनि यो नाचलाई निरन्तरता दिन यो नाच हामी हरेक वर्ष नाच्ने गर्छौं,’ बड्घर प्रदेशी चौधरी बताउँछन् ।

तस्वीर : प्रकाशचन्द्र तिमिल्सेना । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार