२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

दशैँमा पनि सुनसान गाउँ

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ असोज १७ गते शुक्रबार

अरु समयमा सुनसान हुने गाउँमा दशैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइ लगायतका कारणले गाउँ छाडेकाहरु दशैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दशैँमा पनि सुनसान छन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरा लगायतका ठाउँमा जानेहरु बढेपछि दशैँ सुनसान बनेका हुन् ।

पाँच वर्ष अगाडिसम्म दशैँ मान्नका लागि सहर बजार र विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताए । पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दशैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उनको भनाइ छ ।

थापा भने, ‘गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरु बेला त गाउँ सुनसानै हुन्थ्यो तर दशैँको बेला धेरै मान्छे गाउँ आउँथे, अहिले दशैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दशैँ आएजस्तो हुने रैछ, कोही नहुँदा त उराठलाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन् ।’ बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैँमा गाउँ सुनसान भएका हुन् ।

गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यतिबेला सुनसान छन् । गाउँका दुई–चार घरको चुलोेमा आगो बले पनि धेरै घरमा झार पलाएका छन् । घरका बार्दली लेउले ढाकिएका छन् भने काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताए । धनीहरु सबै सहर पसेपछि अहिले गाउँमा गरिब वर्गमात्रै रहेको उनको भनाइ छ । गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरु कोही नभएको नेपालीले बताए ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार