प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको टीका लगाइनन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका शहीदको सम्मानमा यस वर्ष टीका नलाउने यसअघि नै घोषणा गरेकी थिइन् । बरु विजयादशमीका दिन आज जेनजी आन्दोलनका क्रममा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् ।
काठमाडौंमै रहेका बागलुङका मृतक सौरन किशोर श्रेष्ठ, नागार्जुन–३ काठमाडौंकी मृतक कान्छी नगरकोटी र कीर्तिपुरको मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई प्रधानमन्त्री कार्की भेट्न गइरहेको उनको सचिवालयले जनाएको छ । आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन् ।
बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि कार्कीले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवारलाई १५ मिनेट भेट्ने कार्यक्रम तय भएको छ । त्यसपछि भने प्रधानमन्त्री कार्की कीर्तिपुरस्थित मैत्रीनगर जाने र त्यहाँ मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
