२०८३ साउन ३ , आइतबार 19, July 2026, Sunday

‘चाडबाड’मा परदेशिएका बाबालाई छोरीले सम्झिएपछि…(भिडियोसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १५ गते बुधबार

दशैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत ‘चाडबाड’ सार्वजनिक भएको छ । यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकै ठाउँ हुन पाउँदैनन् । गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन् ।

अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुखी छन् । यस गीतमा अमेरिका निवासी गायक विजय शंकरको स्वर, शब्द र संगीत रहेको छ । उनलाई स्वरमा साथ उनकी छोरी प्रिस्किला शंकरले दिएकी छिन् । दीपकराज विश्वकर्माले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।

साथै, उनको निर्देशनमा बनेको यस भिडियोमा स्वयम् दीपकराज विश्वकर्मा, अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन् । सुबिन गोदारले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियो हेर्दा लाग्छ, यो गीत धेरै नेपालीको मन छुनेछ ।

छोरीले घरमा चाडपर्वको तयारी गर्दै बाबालाई सम्झेकी छिन् भने बाबाले विदेशमा एक्लोपन महसुस गर्दै परिवारसँग रमाउन नपाएको पीडा व्यक्त गरेका छन् । नयाँ नेपाली गीत ‘चाडबाड’मा भिडियोको निर्देशन र पात्रहरूको अभिनयले वास्तविक जीवनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

यो केवल गीत मात्र होइन, विदेशिएका बाबाआमा, छोराछोरी र सम्पूर्ण नेपाली परिवारहरूको साझा कथा हो । दशैं तिहारको रमाइलोबीच सम्पूर्ण परिवार एकसाथ नहुने भावनालाई यस गीतले मार्मिक ढंगले उजागर गरेको छ । गीतको म्युजिक भिडियो ‘विजय शंकर अफिसियल’ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार