२०८३ साउन १२ , मंगलबार 28, July 2026, Tuesday
मौसमविद्को चेतावनी

‘असोज १७ देखि ‘भीषण’ बर्षाको सम्भावना धेरै’

‘फोरकास्ट (पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ । तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।’
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १४ गते मंगलबार

मौसमविद्हरूले अब ‘भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । यो असोजमा पनि गत बर्षझैँ भीषण वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । गत बर्ष असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा.विनोद पोखरेलले उल्लेख गरेका छन् ।

‘फोरकास्ट (पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ,’ उनले आज बिहान फेसबुकमा लेखेका छन्, ‘तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।’ उनले देशमा यही अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म भारी वर्षा हुन सक्ने जनाएका छन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् ।

उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए । ‘भोलि (असोज १५)देखि वर्षा हल्का तथा मध्यम हुँदै बिहीबार (असोज १६) रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ,’ उनले लेखेका छन् । उनले बडादशैँको टीकापछि यात्रा गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् । भारी वर्षा तीन–चार दिनसम्म हुने देखिएको उनले जनाएका छन् ।

हिले दशैँ हुने उनको भनाइ छ । जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले पनि दशैँ टीकाको भोलिपल्ट (असोज १७) देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको जनाएका छन् । उनका अनुसार भोलि बुधबारदेखि हल्का वर्षा सुरु भई बिहीबार रातिदेखि विशेषगरी पूर्वी नेपालमा ठूलो वर्षा हुने अनुमान छ ।

उनले सामाजिक सञ्जालमार्फत किसानलाई सचेत रहन आग्रह गर्दै समयमै जानकारी दिनुपर्ने बताए । गत वर्ष असोज १० देखि १३ गतेसम्म देशमा ठूलो पानी परेको थियो । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ ।

१० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । गत बर्ष कतिपय स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको थियो ।

काठमाडौंसहित धेरै स्थानमा बाढीपहिरोबाट ठूलो क्षति भएको थियो । मौसम पूर्वानुमान शाखाले पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यता भारतले पनि (असोज १७–१९ सम्म) सिक्किम, पश्चिम बंगाल र बिहारमा पनि भारी वर्षाको चेतावनी जारी गरिसकेको छ ।

 

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार