कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले राज्यले दिएको सवारी साधन फिर्ता गरेका छन् । पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनविपरीत सवारी साधन प्रयोग गरिरहेपछि सरकारले फिर्ता गर्न आग्रह गरेको थियो ।
पूर्वसभामुखद्वय महरा र घर्ती तथा पूर्व राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रयोग गर्दै आएका सरकारी सवारीसाधन फिर्ता गरेको अर्थमन्त्री रामेश्वर खनालले जनाएका छन् । अर्थमन्त्री खनालले गैरकानूनी रूपमा पूर्वपदाधिकारीहरूले भोग गरिरहेको सुविधा रोक्ने अभियान थालेपछि उनीहरूले गाडी बुझाएका हुन् ।
यसबारे अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये कृष्ण बहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नु भएको आधिकारिक जानकारी प्राप्त भएको छ ।’
जेनजी आन्दोलनपछि बनेको तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वविशेष पदाधिकारीलाई दिइँदै आएको सेवा–सुविधा स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि प्रयोग हुँदै आएका सरकारी गाडी हाल फिर्ता गरिएका हुन् । अर्थ मन्त्रालयले कानुनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी पनि गरिरहेको बताएको थियो ।
सत्यपाटी