राप्ती नदीमा माछा मार्न गएका एक जना बालक डुबेर बेपत्ता भएका छन् । आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका बाँकेको राप्तीसोनारी गाउँपालिका–७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका हुन् ।
बुवा प्रेम पुनसँगै राप्ती नदीको पिप्रहवा घाट नजिक सोमवार दिउँसो माछा मार्न गएको बेला बालक नदीमा डुबेर बेपत्ता भएको राप्तीसोनारी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिएका छन् ।
माछा मार्ने क्रममा नदीमा पसेपछि छोरा डुबेर बेपत्ता भएको उनका बुवा प्रेम पुनले जानकारी दिए । वडाध्यक्ष थारुका अनुसार खोजी कार्य भइरहे पनि बालक नभेटिएको र शम्शेरगन्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले सोमबार अबेर रातीसम्म खोजी गरेको थियो ।
वडाध्यक्ष थारुका अनुसार मंगलवार पनि स्थानीयले बिहानबाटै नदीको किनार किनार टाढासम्म पुगेर खोजी गरिरहेका छन् । दसैंको मुखमा छोरा नदीमा बगेर बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ । पुन परिवार मात्रै नभई सैयापुर गाउँनै शोकमग्न भएको छ ।
सत्यपाटी