२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

‘दशैंमा पिङमा मच्चिनुको मज्जै बेग्लै’

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ असोज १४ गते मंगलबार

वर्षा कम हुँदै गएपछि शरद् याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । शरद् यामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ । सहर बजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् ।

रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए । ‘अघिपछि गाउँघरमा युुवाहरु नभएपनि विदेशीएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रौनक छाएको छ,’ उनले भने, ‘चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र ईष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।’

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर तथा विदेशीने क्रम बढेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दीका स्थानीय तहहरुमा ८९ परिवार बसाई सराई गरेर आउँदा २४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् । अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशैं मनाउन कोरीयाबाट जन्मथलो आएका छन् ।

‘चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झीएर न्यास्रो लाग्थ्यो,’ उनले भने, ‘उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीहरुसँगको आत्मियता विदेशमा हुदैन् ।’ सहर बजार र विदेशको चाडपर्व घर र परिवारमा सिमित हुुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुुकेको हुुन्छ । आफन्त साथीभाई र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताए ।

दशैको नवदुुर्गामा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विषेश महत्व हुुने दशै मनाउनका लागि बेनीबाट दसै मनाउन जन्मथलो रघुगङ्गा–४ दग्नाम स्थित घरमा गएकी सोनालिका गर्बुजाले बताए । ‘बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौ,’ पोखराबाट दशै मनाउन धवलागिरी गाउँपालिका–७ हिलापोखरी स्थित जन्मथलोमा आएका खुम पुनले भने ।

उनका अनुसार बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ । गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायःजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार