राजनीतिक दबाबका कारण अधुरै रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पुनः अनुसन्धान सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को निरीक्षणका क्रममा राजनीतिक आग्रहमा बन्द गरिएका कतिपय अनुसन्धान पुनः गर्न निर्देशन दिएपछि प्रहरीले उक्त प्रकरणको पूरक अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ ।
पुनः सुरु भएको अनुसन्धानको दायरामा शेरबहादुर देउवाका सालो तथा डा. आरजु राणाका भाइ भूषण राणा पनि परेका छन् । प्रहरीका अनुसार उनीसँग यसअघि एकपटक मात्र बयान लिइएको थियो । तर, त्यसपछिका अनुसन्धानहरू उच्च राजनीतिक दबाबका कारण रोकिएको थियो ।
उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत ३० जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराध अन्तर्गत मुद्दा दायर भइसकेको छ । नयाँ अनुसन्धानसँगै यसअघि राजनीतिक प्रभावका कारण ओझेलमा परेका केही पात्रहरू फेरि अनुसन्धानको घेरामा पर्नसक्ने संकेत देखिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री टोपबहादुर रायमाझी, गृह सचिव टेकनारायण पाण्डेसहितको संलग्नता भेटिएको थियो । केही दिनअघि सिआइबी प्रमुखको जिम्मेवारीमा पठाइएका एआइजी मनोजकुमार केसीले २०७९–०८० सालमा उक्त घटनाको अनुसन्धान गरेका थिए ।

