२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

अष्टमी, नवमी र विजयादशमीका दिन कस्तो होला मौसम ?

यो वर्ष बडादशैंको महाअष्टमी, महानवमी र टीकाका दिन देशका केही स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षाको पूर्वानुमान छ । दशैं अवधिभर देशमा मनसुनी वायुको प्रभाव रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, ‘यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार, असोज १४ गते आज महाअष्टमीका दिन वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस दिन कोसी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘भोलि असोज १५ नवमीमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ । महाशाखाका अनुसार असोज १६ गते विजयादशमीका दिन वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसदिन कोसीका पहाडी र तराई भू–भागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

टीकाका दिन मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । ‘नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनसुन बहिर्गमन हुने भएता पनि प्रत्येक वर्ष सो मिति भने फरक–फरक हुने गर्दछ,’ महाशाखाले भनेको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

दशैंका तीन दिनमा वर्षाको सम्भावित जोखिमको आकलन हेर्नुस् :

 

 

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार