२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

दशैंमा खसीबोका बिक्री हुँदा किसान खुसी

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ असोज १३ गते सोमबार

कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसीबोका बिक्री गर्न भ्याइनभ्याइ छ । दशैंको समयमा सहरी क्षेत्रमा खसीबोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उनी खुसी छन् । थापाले भने, ‘गाउँमा खसीबोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ ।’

उनको खोरमा १५० गोटासम्म खसीबोका छन् । हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो रु ५५० का दरमा बिक्री गर्ने गरेको थापाले सुनाए । उनले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहेका छन् । ‘चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रपालन, फलफूल र तरकारीखेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ ।’

चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ । व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसीबोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताए । पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र साकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उनको भनाइ छ । चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।

बडादशैंको समयमा यो क्षेत्रमा पालिएका खसीबोकाको माग बढी हुने गरको छ । बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ । ‘सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ,’ अधिकांश किसानको गुनासो छ । चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार