२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

बाँकेका विभिन्न धार्मिकस्थलबाट बागेश्वरी मन्दिरमा फुलपाती भित्र्याइँदै

बाँकेका विभिन्न धार्मिकस्थलबाट नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा आज फुलपाती भित्र्याइँदैछ । सम्बन्धित मन्दिरमा लग्ने कार्यक्रम तय भएको छ । बाँकेका विभिन्न धार्मिकस्थलबाट बागेश्वरी मन्दिरमा फुलपाती भित्र्याएर पुनः सम्बन्धित मन्दिरमा लग्ने कार्यक्रम तय भएको नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका छन् ।

यसअघिका बर्ष सुरक्षाकर्मीहरूले मात्रै फुलपाती मन्दिरमा भित्र्याउने गरेका थिए । बागेश्वरी धार्मिक सर्किट एवं जागरण अभियानका लागि जिल्ला पहिलो पटक विभिन्न मन्दिरबाट बागेश्वरी फुलपाती भित्र्याउने कार्यक्रम तय गरिएको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिएका छन् । ‘हामीले समन्वयकारी भूमिका खेल्ने र उपस्थिति हुने निर्णय गरेका छौं,’ अध्यक्ष डिल्लीराज रेग्मीले भने, ‘यसको दायित्व भने सम्बन्धित पालिका, वडा नै रहनेछ ।’

उनले कार्यक्रम कसरी सफल बनाउने भन्नेमा नाट्टा बाँकेको संयोजनकारी भूमिका रहने बताए । बागेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीले मन्दिर आएका भक्तजनको सुरक्षा, दर्शन तथा धार्मिक कार्य सहज बनाउने आफुहरूको दायित्व रहेको बताए । उनले नाट्टाबाट फुलपातीका भित्र्याउनका लागि आधिकारिक पत्र नपाए पनि अनौपचारिक जानकारी नाट्टाका निवर्तमान अध्यक्ष सिग्देलबाट पाएको बताए ।

‘हामी सबै भक्तजनको घुइँचो, भीड व्यवस्थापन र सहज दर्शनको वातावरण बनाउन आन्तरिक तयारीमा छौं,’ अध्यक्ष अधिकारीले भने, ‘फुलपातीमा मन्दिरहरूबाट फुलपाती लिएर आउनुभयो भने हामी उहाँहरूको व्यवस्थापनका लागि तयार छौं ।’ नाट्टा बाँकेका निवर्तमान अध्यक्ष सिग्देलले बागेश्वरी मन्दिरलाई सर्किट बनाउने उद्देश्य रहेको बताए । ‘यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई धार्मिक स्थल चिनाउन मद्दत पुर्याउँछ,’ उनले भने, ‘जिल्लामा यो नयाँ परम्पराको थालनी पनि हो ।’

उनले धार्मिक सर्किट बनाउनका लागि जिल्लाभित्र रहेका धार्मिक स्थलहरू बीच समन्वय आवश्यक रहेको बताए । ‘विभिन्न पालिका तथा मन्दिरहरूबाट फुलपातीमा आउन आव्हान भैसकेको पत्रहरू पाएका छौं,’ सिग्देलले भने, ‘नाट्टाको आव्हानमा सम्बन्धित वडा र पालिकाले तयारी गरिरहनु भएको छ ।’

यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नं. ३ ले ऐतिहासिक भुँवर भवानी मन्दिरलाई धार्मिक तथा पर्यटनसँग जोड्नका लागि फुलपातीको दिन मन्दिरबाट बाजागाजा सहित नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुगेर फर्कन भुवरभवानी मन्दिर बनघुसरीमा उपस्थितिका लागि आव्हान गरेको छ । वडाध्यक्ष मिनकुमार चौधरीले धार्मिक, राजनीतिक, समाजसेवी, बुद्धिजीवि, युवा, महिला, सांस्कृतिक टिमलाई उपस्थितिका लागि आव्हान गरेका हुन् ।

त्यस्तै, बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित लक्ष्मिनारायण मन्दिर व्यवस्थापन समितिले पनि फुलपाती बागेश्वरी मन्दिर लगि मिसाएर पुनः फर्किने कार्यका लागि आव्हान गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बागेश्वरी मन्दिर फुलपाती लग्नका लागि साढे ७ बजे लक्ष्मिनारायण मन्दिरमा भेला हुन आव्हान गरेका छन् ।

त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिका वडा नं.३ का वडाध्यक्ष अजयकुमार मिश्रले पनि बर्फानीबाबा मन्दिरबाट फुलपाती बागेश्वरी मन्दिर लग्ने र भित्र्याउने कार्यका लागि उपस्थितिका लागि आव्हान गरेका छन् । त्यस्तै, नरैनापुर गाउँपालिका वडा नं.६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले पनि त्यहाँ स्थित सन्तानेश्वर महादेव मन्दिरबाट फुलापाती सहित बागेश्वरी मन्दिर पुगेर मन्दिरसम्म फर्किने कार्यका लागि स्थानीयसँग उपस्थिति हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार