दशैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमापारिबाट हुँदै आएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो । भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि भारतबाट कुखुराको मासु र कुखुरा ल्याउन प्रतिबन्ध लगाइएको छ ।
भारतबाट हुँदै आएको भारतीय कुखुराको अवैध आयात नरोकिँदा बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको छ । खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले दैनिकजसो साइकल, मोटरसाइकल र गाडीमा भरेर अवैध कुखुरा नेपालगन्ज ल्याउने गरेको पाइएको छ । सो प्रकारको तस्करी राति या विहानको समय बढी हुने गरेको छ ।
पछिल्लो समय शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि प्रहरीले नाकामा निगरानी बढाउँदा सीमा पारीबाट ल्याइएका कुखुरा र ल्याउने मानिस दुबैलाई नियन्त्रणमा लिन थालिएको छ । सो क्रममा आइतवार नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको २५ हजार रुपैयाँभन्दा बढीको अवैध ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जनाए ।
प्रवक्ता पातलीका अनुसार जमुनाह गाउँ निवासी स्थानीय गणेश कवडीयाले चलाएको साइकलमार्फत ल्याइँदै गरेको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको छ । बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० बराबर रहेको उनले बताए । बरामद गरिएका कुखुरा तथा साइकलसहित कबडियालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएको पनि प्रहरी प्रवक्ता पातलीले बताए । उनले नाकामा कडाई सुरु गर्नुका साथै गस्ती समेत बढाइएकाले नाका पारीबाट हुने अवैध काम नियन्त्रण हुने बताए ।
सत्यपाटी