२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

भेरी अस्पतालको सिटी स्क्यान मेसिन डेढ वर्षदेखि बन्द

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज १२ गते आइतबार

बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटी स्क्यान डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । करिब १८ महिनादेखि सिटी स्क्यान नचल्दा बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाका दुर्घटनामा परेका तथा अन्य न्युरो सम्बन्धी बिरामीलाई उपचारमा निकै समस्या हुँदै आएको छ ।

सिटी स्क्यान बिग्रिएको धेरै लामो समय बिते पनि मर्मतसम्भार वा नयाँ खरिद नगरिँदा विपन्न, गरिब र दुर्गम जिल्लाबाट आएका बिरामीले उपचार पाउन समस्या भएको छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले सिटी स्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन पटकपटक मन्त्रालयमा प्रयास गरिएपछि यस पटक बजेटमा एक करोड ३२ लाख रुपैयाँ छुट्याइएको बताए ।

उनले सो बजेटबाट सिटी स्क्यान मर्मतसम्भार सुरु गर्ने प्रव्रिmया सुरु गर्न लागेका बेला जेनजीको आन्दोलनले देशको अवस्था यस्तो भएपछि स्वास्थ्य मन्त्रालयले हालका लागि कुनै पनि उपकरण मर्मत सम्भार र खरिद नगर्न मौखिक आदेश दिएको बताए । मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीले पुरानो मेसिनमा एक करोडभन्दा बढी खर्च गर्नुभन्दा नयाँ मेसिन खरिद गरेर ल्याउनतर्फ लागेकोमा सो प्रयास सफल नभएको बताए । अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध नहुँदा कतिपय विपन्न र आर्थिक रूपमा कमजोर बिरामीले उपचार नै नपाएर फर्किने गरेको अवस्था छ ।

सिटी स्क्यान नहुँदा दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीले सबैभन्दा बढी दुःख पाउने गरेको र उपचारमा समेत ढिलाइ हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.सङ्केत रिसालले दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीको तत्काल सिटी स्क्यान गर्नुपर्ने हुँदा महँगो अस्पतालमा पठाउनुको विकल्प नहुने गरेको बताए । उनले पैसा नहुने बिरामीले सिटी स्क्यान गराउन नसक्दा उपचार नै गराउन नसक्ने अवस्थासमेत आउने गरेको बताए ।

सिटी स्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आशामा भेरी अस्पताल आएका दूरदराजका बिरामीले महँगो शुल्क तिरेर बाहिर निजी स्वास्थ्य संस्थामा गई सिटी स्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठको गुनासो छ । भेरीमा रहेको सिटी स्क्यान मेसिन १३ वर्ष पुरानो रहेकाले गुणस्तरीय उपचारका लागि उक्त मेसिनको मर्मतसम्भार भन्दा पनि नयाँ मेसिन ल्याउनेतर्फ सबैले दबाब दिनुपर्ने अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार