मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन राष्ट्रिय अनुस्नधान विभागका प्रमुख हुतराज थापा र काठमाडौँ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । १२ असोजमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उनीहरुलाई काठमाडौं उपत्यका बाहिर जान पनि बन्देज लगाइएको छ । २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरमा रहेको हुँदा उनीहरुको विदेश भ्रमणमा रोक लगाउन र कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुँदा स्वीकति बेगर काठमाडौै उपत्यका छाड्न नपाउने निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो । २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अत्यधिक दमन गरेको आरोप उनीहरूलाई लागेको छ ।
आन्दोलनका क्रममा ७४ जनाको निधन भएको थियो । २३ गते माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वर पुगेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना युवाहरूको निधन भएको थियो । त्यसपछि आक्रोशित भिडले २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवाससहित नेताहरूका निजी निवासमा समेत आगजनी र तोडफोड गरेको थियो ।
प्रदर्शनका क्रममा निजी व्यावसायिक प्रतिष्ठान र उद्योगी व्यवसायीहरूको निवासमा समेत तोडफोड र आगजनी भएको थियो । २४ भदौमा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि सेनाले उनलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा राखेको थियो । गृहमन्त्री रहेका रमेश लेखकले भने २३ भदौमा नै पदबाट राजीनामा दिएका थिए ।

