२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

दशैँमा पूर्वराजा ज्ञानेन्द्रले के भने ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १२ गते आइतबार

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई सरकारले पूरा गर्नुपर्ने बताएका छन् । विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्वराजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा उल्लेख गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’ यसपटकको दसैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् । पूर्वराजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् ।

‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार