‘ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ’ भन्ने उखान अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवस्था वर्णन गर्न उपयुक्त भएको छ । जेनजी आन्दोलनमा सभापति रवि लामिछाने कारागारबाट ‘भागे’पछि पार्टीको छवि ध्वस्त भएको छ भने पार्टी छाड्नेहरूको लर्को छ । लामिछाने जेलबाट भागेपछि असन्तुष्ट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सुमना श्रेष्ठले गत भाद्र २९ गते पार्टी छोडेकी थिइन् ।
उनका अनुसार पार्टी नेतृत्व लगातार गल्ती गर्ने भए पनि कहिल्यै गल्ती स्वीकार गर्न तयार छैन । उनले बताएकी छन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नु पर्ने ? पार्टीभित्र आलोचना गर्नेहरू विरुद्ध मिडिया ट्रायल गर्ने ?’ सुमनासँगै केन्द्रीय सदस्य हरि भट्टले पनि रास्वपा छाडेका थिए । त्यसपछि दुई साताभित्र अर्का केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले पनि राजीनामा दिएका छन् ।
पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । हाल सभापति रवि लामिछाने जेलमा रहेका छन्, तर देशमा उत्पन्न विषम परिस्थितिमा पार्टीलाई स्थिर बनाउनुपर्ने बेला नेताहरू लगातार पार्टी छाड्दैछन् । जेनजी आन्दोलनले राजनीतिक दलहरू संकटमा पार्दा रास्वपामा आन्तरिक असन्तुष्टि झन् बढेको छ ।
रविको कारण पार्टीको छवि ड्यामेज
सहकारी ठगी मुद्दामा सजाय भोगिरहेका सभापति रवि लामिछाने आन्दोलनकारीको भीडले कारागार कब्जा गरेर बाहिर ल्याइएका थिए । कारागारबाट निस्कँदा ‘विजय जुलुस’ शैलीमा रिहाइ हुँदा पार्टीको छविमा ठूलो धक्का पुगेको छ । जेनजी आन्दोलनको अव्यवस्थाले देशभर झन्डै १५ हजार कैदी फरार भएका थिए । यद्यपि करिब ६ हजार कैदी जेल फर्किएका छन्, बाँकी अझै फरार छन् ।
डिल्लीबजार कारागारमा रविको घटना सुनेर कैदीहरूले पनि भाग्ने प्रयास गरेका थिए, जसलाई नेपाली सेनाले असफल बनाएको थियो । रवि विजयभाव देखाउँदै कारागारबाट भागेकोबारे रास्वपा केन्द्रीय समिति बैठकमा पनि गम्भीर रुपमा छलफल भएको छ । रविको ‘विजय रिहाइ’ले रविको मात्रै नभई समग्र पार्टीको छविमा आघात पुर्याएको छ । रविलाई रिहाइ गर्न जानेहरूमाथि कारबाही गर्नुपर्ने आवाज पार्टीभित्रै तीव्र उठेको छ ।
रविलाई छुटाउन कार्यवाहक उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय नेताहरू गणेश पराजुली, हरि ढकाल, ज्वाला संग्रौला लगायत उपस्थित थिए । केन्द्रीय सदस्य ज्वाला संग्रौलाले शर्तसहित राजीनामा दिने तयारीको बताइएको छ । यस घटनाले पार्टीमा असन्तुष्टि र बाहिरी आलोचना बढाएको छ । सामाजिक सञ्जालमा रास्वपालाई ‘अपराधीहरूको संरक्षक’ भन्दै ट्रोलिङ भइरहेको छ ।
जेनजी समूहले रविको भागाइलाई आन्दोलनको मर्मविपरीत भनेको छ र छानबिनको माग गरेको छ । यो घटनाले रास्वपाको ‘स्वतन्त्र र सुशासनको’ नारालाई धराशायी बनाएको छ । पार्टी कार्यकर्ताबीच फुटको जोखिम बढेको छ र आगामी निर्वाचनमा यसको असर पर्ने देखिन्छ । रवि जेल फर्किए पनि, यो दाग लामो समयसम्म पार्टीको छवि सताउनेछ ।
घण्टीघरबाट पनि लखेटिँदै
रास्वपा बनस्थलीस्थित केन्द्रीय कार्यालय भाडामा राखेको घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गर्न भनेका छन् । जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालय भवनमा आगलागीको घटना देखेपछि घरधनीले रास्वपा छोड्न भनेको प्रवक्ताले बताएका छन् । साथै, पार्टीले केही महिनाको भाडा तिर्न बाँकी राखेको पाइएको छ ।
सत्यपाटी